May 15, 2021

  मायावी शक्ति  

 


- विरोध रिजाल

तिमी मुस्कुराई रहेका हुन्छौ 

मोति जडित कुर्सीमा विराजमान भएर 

सायद यो नै तिम्रो उत्तम समय हो 

जुनबेला तिमी आफूलाई 

सर्वशक्तिमान् महसुस गरिरहेका छौ 

भित्रभित्रै दङ्ग परेर 

सायद मनमा लड्डु फुटाउँदै छौ होला 

किनकि मायावी समय बन्दैछ 

निकै लामो जिन्दगीको संघर्ष पछि

तिम्रा विरोधीहरूले तिम्रो 

रौ सम्म हल्लाउन सकेका छैनन् 

तिमीलाई लाग्दो हो 

संसार कति सुन्दर छ है 

किनकि तिम्रो दृष्टिमा परेका छैनन् 

ति हस्पिटलको सघन कक्षमा 

छटपटिएका जिन्दगीहरू   

एउटा बेड नपाएर 

आर्तनाद गरिरहेका मानिसहरू 

जीवन र मृत्युको दोसाँधमा 

पिल्सिएका हजारौँ बिरामीहरू 

न त तिमीले सुन्नेनै छौ 

एम्बुलेन्सका कर्कश साइरनहरू 

आफ्नो मान्छे गुमाएकाहरूको चित्कारहरू 

न त तिमीले भेट्ने नै छौ 

एक छाक खान नपाएका भोका पेटहरू 

अनिश्चित भविष्यले पिरोलिरहेका युवाहरू 

किनकि तिम्रा 

शयनकक्ष आवाज निषेधित छन् 

तिम्रा दृश्यहरू स्वप्निल छन् 

तिमी सर्वशक्तिमान् छौ 

किनकि तिमी शासक हौ 

इतिहासमा निरो पनि एक शासक थियो 

जो रोम जल्दै गर्दा बाँसुरी बजाउँथ्यो रे ।  

 निरो पनि एक शासक थियो  रे। 



No comments:

Post a Comment