“मोबाइलमा सिम कार्ड छ । तिन वर्ष भयो नचलाएको । के गर्यो भने चल्छ होला ?”
मैले सोधे "कुनको हो, एनटिसी हो कि एनसेल "? खासमा जुनको भएपनि त्यो सिम चल्छ कि चल्दैन मलाई ज्ञान थिएन, तैपनि सोधेँ । उनले एनसेल को हो भनेँ । मैले थाहा भएन दाइ भनेँ ।
झन्डै पचास पचपन्नको उमेर, आधा टाउको चिल्लो आधा झुसिलो । मुन्ठेको दाह्री अनि खौरिएको जुँगा । कालो सिन्थेटिकको ज्याकेट छ । ज्याकेट खुइलिएको धुलो पाइन्टभरि झरेको छ ।
उनको पहिरन हेर्दा भर्खर विदेशबाट आएको अनुमान गर्न सकिँदैनथ्यो ।
म दाङ जानको लागी कलङ्की चोकबाट गाडी चढेको थिएँ । दाङ यात्रामा छिमेकी सिटको सहयात्री थिए हमिद दाइ । “तीन दिनदेखि परिवारसँग कुरा हुन पाएको छैन”, हमिद दाइले भने ।
“किन नि?”, मैले सोधे ।
हिजो राती एघार बजे एअरपोर्टमा उत्रेको । होटेल सम्म पुग्दा दुई बजिसकेको थियो । बिहान पाँच बजे उठेर बसपार्क पुगेर टिकट काटे । अहिलेसम्म बस मै छु ।
"कहाँबाट आउनु भएको ?" मैले सोधे ।
साउदी अरबबाट ।
“ए वैदेशिक रोजगारका लागि जानु भएको । कति वर्षपछि आउँदै हुनुहुन्छ?", मैले सोधेँ । “दुई वर्षपछि”, उनले भने ।
केहीबेरमा उनले फेरि रिचार्ज कार्ड देखाएर सोधे “यो हाल्यो भने फोन खुल्छ कि”?
मैले फोन मागेर मेरो नम्बरमा डायल गरे । “नट रजिस्टर्ड इन नेटवर्क ” भन्ने म्यासेज आयो । मैले भनेँ, “तपाईंको सिम कार्ड खुलाउनु पर्छ, अहिलेलाई मेरो मोबाइलबाट कुरा गर्नु न ।”
उनले आफ्नो मोबाइलको कललगमा नम्बर खोजे । नम्बर भेटिएन । लाष्टमा १६ थियो त्यो नम्बरको, खै देखेन भने । मैले खोज्ने प्रयास गरे । भेटिएन ।
“कस्तो छ अरबमा काम गर्न?” मैले सोधेँ ।
अरे भै (भाइ ) अर्काको देश हो के सजिलो हुन्छ । हाम्रो मजबुरी न हो ।
दाइले पीडा पोखे । मैले उनलाई सहयोग गर्न चासो देखाएको भएर होला हमिद दाइ अलि खुलेर कुरा गर्न थाले ।
“के काम गर्नु हुन्छ अरबमा ?”, मैले फेरी जिज्ञासा तेर्साए ।
“पाइप फ़िटिङ्गको काम छ ।”, दाइले भने ।
“ए, प्लम्बिङ्गको काम ?”, मैले बुझेजसरी भनेँ ।
दाइले बुझे की बुझेनन् "त्यस्तै हो " भने ।
“प्लम्बिङ्गको काम त काठमाडौँमा पनि धेरै छ । यहाँ घरको धारा बिग्रेको बेला हामीलाई प्लम्बर भेटाउन मुस्किल छ । अनि भेटिए पनि धारा छोयो कि कम्तिमा पाँचसय त लिएर जान्छन् । यतै बसेर काम गरे भैगो नि” मैले भनेँ ।
त्यस्तो घरको धारा बनाउने त कहाँ हो । उता त मेसिनले जमिन खन्छ, हामीले पाइप हालेर फिटिंग गर्ने हो अनि मेसिनले पुर्ने काम गर्छ ।
“ए ए तपाईंले ठुलो लाइनको काम गर्नु हुँदोरहेछ”, मैले भने । “त्यही त छ “, हमिद दाइको उत्तर आयो ।
फेरी एकछिन हमिद दाइले मोबाइल हेरे अनि भने “छिमेकीको एउटा नम्बर त छ” ।
“कल गर्नुहुन्छ?”, मैले सोधेँ ।
अनि मैले उनको मोबाइल मागेर नम्बर हेर्दै मेरो मोबाइलबाट डायल गरे । फोन गयो । हमिद दाइले कुरा गरे । कुरा भए पछि उनी प्रसन्न मुद्रामा देखिए ।
यो छिमेकी हो । मेरो घरमा गएर सुनाइदिन्छ । हमिद दाइले खुशी साटे । म पनि मुस्कुराएँ ।
“के छ विदेशको कमाइ कस्तो छ ? गार्हो साह्रो पर्यो भने साथीहरूले कति सहयोग गर्छन”, मैले सोधेँ ।
कमाई त ठिकै छ । मुदिर (म्यानेजर ) राम्रो भयो भने अलि सजिलो पनि हुन्छ । कम्पनी राम्रो भयो भने अरु पनि राम्रो हुन्छ ।बिरामी पर्दा पनि पैसा दिन्छ तर धेरै नेपालीहरूको राम्रो मुदिर हुँदैन , सरिकाया(कम्पनि) पनि राम्रो छैन दुख पाको छ । केही महिनाको पैसा दिन्छ फेरी केही महिनाको दिदैँन । दिनरात काम लगाउँछ । छुट्टी पनि दिदैँन । दिनमा पन्ध्र सोह्र घण्टा काम गर्नुपर्छ । मेरो त सरकारी हो । मैनाको एघार सय रुपियाँ (रियाल) दिन्छ । बस्न खान दिदैँन । चारसय त्यसमा खर्च हुन्छ । बस् बच्ने त सात सय रुपियाँ (रियाल ) हो ।
“अनि बिरामी पर्यो भने के हुन्छ ?”, मैले सोधेँ ।
हामी सरकारीको पैसा आउँछ । मुदिर राम्रो छ भने प्राइभेटमा पनि हेर्छ । तर मुदिर राम्रो छैन भने दुख हुन्छ । सानोतिनो कम्पनी छ भने त त्यसले हेर्दैन । कामै सब सकिन्छ ।
“नेपाली भनेर त हेप्दैनन् होला नि ?”, मैले फेरी प्रश्न तेर्स्याएँ ।
अरे भै (भाइ) विदेशको ठाउँ छ । कसले हेर्छ हामीलाई । काम मात्र लगाउँछन् । हामीलाई के मान्छे गन्छ उनीहरूले ?
पहिलेको राजा अलि ठिक थियो । अहिलेको राजा त गरिबको हितमा छैन । निकै गार्हो छ । हामीले कसलाई भन्ने ? सुनिदिने त कोही छैन । तपाईंले फेसबुकमा देख्नुहुन्न? पैसा पनि नदिएर काम मात्र लगाएको ? कति बन्धक भएर बसेका छन् । हमिद दाइले बेलिबिस्तार लगाए ।
मैले भने, “हाम्रो दुतावास छ नि, रियादमा जानुहुन्न त्यहाँ ?”
दुतावास के छ ? उनीहरु यहाँको शेर हो वहाँको स्याल हो । के कुरा गर्न सक्छ हाम्रो बारेमा त्यहाँको सरकार सँग ? आखिरमा जे दुख छ हामी भोग्नु पर्छ ।
तपाईं दुतावासमा जानुभएको छ त कहिले ? मैले फेरी सोधेँ ।
चार वर्ष जति अगाडि गएको थिए । तर दुतावासले केही सहयोग गरेन ।
किन जानु भएको दुतावास?
त्यो छ कि, साथीहरूले रक्सी खाएर बदमासी गरे भै, मलाई पनि फसाइदियो।
“ए रक्सी पनि पाइन्छ अरबमा ?”, मैले सोधेँ ।
"आफै बनाउछन् तिनीहरु", उनले भने ।
“कसले बनाउँछ ?”, मैले सोधेँ ।
त्यो खेतीपाती गर्न गएका हुन्छन नि उनीहरु लोकल जस्तो रक्सी बनाउँछन् अनि त्यही खान्छन् ।त्यही रक्सीले त कतिलाई अप्ठ्यारो परेको छ । रक्सी खाएर बदमासी गर्छन । अनि कमाएको सबै पैसा त्यही जरिवानामा सकिन्छ । कति त जेलमा सडेका छन् । गार्हो छ भै (भाई )।
दाइले नारायणघाटमा एक किलो सुन्तला किने । मलाई सुन्तला खान अनुरोध गरे ।
“म खाना खाएर खान्छु, तपाईं खानोस् न”, मैले भनेँ ।
मेरो त बाँडेर मात्र खाने बानी छ । म एक्लै खान सक्दिनँ ।
हामीले गैँडाकोटमा खाना खायौँ । उनले फेरी सुन्तला खान अनुरोध गरे । मैले एउटा सुन्तला खाएँ ।
मेरो फोनमा एउटा अपरिचित नम्बरबाट फोन आयो । फोन उठाएर मैले “हेलो हेलो” भनेँ ।
उताबाट पनि हेलो भन्ने आवाज आयो, अनि मेरो आवाज सुनेर रङ्गनम्बर परेछ भन्न थाले । मैले एकछिन है भनेर हमिद दाइलाई फोन दिएँ । दाइले राम्रै सँग कुरा गरे । फोन राखे अनि भने "ज्वाईंले फोन गरेको" । " तपाइंको ज्वाइँ हुनुहुन्छ "? मैले सोधेँ ।
मेरो छोरा र ज्वाइँ लमहीमा कुरिरहेछ मलाई लिनलाई । हामी गढवामा बस्छौं ।
"आज घरमा सबै जना खुसी हुन्छ होला हैन ?”, मैले सोधेँ ।
"ज्वाइँसँग त छ वर्ष पछि भेट हुँदैछ । उनी पनि विदेशमा बस्छन् । उनको कतारमा काम छ । पन्ध्र दिन अगाडि उनको बिदा सक्कीसकेको थियो । मलाई भेट्नलाई बसेका " ।
"आज घर रमाइलो हुने भो ", मैले भनेँ ।
"के गर्नु ? जेठो छोरोले पढेन । महिनामा तीन हजार खर्च गरेको थिएँ उसका लागि तर पाँच कक्षामा धेरै चोटी फेल भयो । दुई वर्ष अगाडि बिहे गर्यो । उसको बिहेमा पनि म आउन मिलेन । बुहारीसँग पनि भेट भएको छैन । आज पहिलो पटक भेट हुन्छ । छोरा पनि वैदेशिक रोजगारमा गएर फर्केको । मलेसियामा थियो । तर कमाई धमाइ भएन । अब जाँदैन रे । आखिर किस्मतमा जे छ त्यही त हुन्छ । माहिलो छोरा अलि पढ्न मन गर्छ । सात कक्षामा पढ़छ अहिले । उसको बिहे चाहिँ अलि पढेर आफैले केही गर्न सक्ने भए पछि गरि दिने विचार छ ।
आफूले धेरै पढ्न सकिएन । पहिले बदाम बेचेर परिवार चलाएँ । पछि पुर्याउन गाह्रो भयो । छ वर्ष देखि साउदी बसेर काम गरिराछु । दाइले फेरी विस्तार लगाए ।
साउदीमा मेरो खुट्टा भाँचियो । मोपेडमा जाँदै थिए । अर्को तिर बाट आएको ट्रकले ठोक्यो। म तीन महिना अस्पतालमा बसेँ । परिवार साथमा छैन, बहुत चिन्तामा दिन गुजारा भयो भै (भाई ) ।
अनि उपचार खर्च र बिदाको पैसा दियो त ? मेरो उत्सुकता रोकिएन ।
उपचार खर्च त त्यो ट्रकवालाले दियो । मेरो त सरकारी काम हुनाले बिदाको पनि पैसा दियो । पैसा दिएर के गर्ने भै आफ्नो साथमा कोही छैन मर्ने पो हो कि भनेर खुब चिन्ता लाग्यो घर परिवारलाई सम्झेर । आखिर गरिब लाई जहाँ गए पनि दुख छ । दाइले फेरी दुखको पोको फुकाए ।
चन्द्रौटामा काक्रो,बदाम, आइसक्रिम बेच्न गाडीमा ल्यायो । दाइले आइसक्रिम खान अनुरोध गरे । मैले खांदैन दाइ तपाईं खानोस् न भनेँ । उनले मलाई केही खावोस भन्ने चाहन्थे । हमिद दाइ अत्यन्तै सज्जन र मिजासिला रहेछन् ।
मलाई फेरी सुन्तला खान अनुरोध गरे । मैले पनि खाएँ, उनले पनि खाए ।
उनले सुन्तलाको बोक्रा हातमा राखे अनि झ्याल खोले । फेरी सोधे मलाई, यो फाल्दिउ बाहिर ?
“बजारमा यसरी गाडीको झ्याल बाट बाहिर फोहोर फाल्न मिल्छ ?”, मैले ठट्यौलो पारामा सोधेँ ।
दाइ अलि लजाए । मैले भने "अलि पर जङ्गलमा पुगे पछि फाल्नुस् न, एकछिन यतै राख्नोस्" । दाइले सहमति जनाए ।
उनले बेला बेलामा आफ्नो ज्वाइँसँग मेरो मोबाइल बाट कुरा गरिरहेका थिए । अनि भन्दै थिए “बडो सजिलो भयो कुरा गरेर । ज्वाइँ त्यो टेम्पो लिएर बसीराछन् रे । नभए गाडी न पाइएला कि भन्ने डर थियो “ ।
कति बेर लाग्छ गढवा पुग्न ? मैले सोधेँ ।
लमहीबाट आधा घण्टा । दाइले जवाफ दिए ।
गन्तव्य नजिकिँदै जाँदा दाइ अझै उत्साहित थिए । कपिलवस्तुका खेतहरू हेर्दै भने "यो पटक मसुरो लगाएन ?"
खै दाइ मलाई थाहा भएन, मेरो निम्सरो जवाफ आयो ।
पानी त परेको थियो, मसुरो हुन्थ्यो होला, कसैले लगाएन जस्तो छ । दाइ भन्दै थिए ।
हेर्नुस् भै, अर्काको देशमा के काम गर्ने, सन् २०२० पछि त उताको सजिलो काम उताकै मान्छेलाई दिने भन्दै छ । त्यसो भयो भने धेरै नेपाली फर्किनु पर्छ । नेपाल फर्किएर काम पाउन पनि गाह्रो छ । काम दिए त गर्नु हुन्थ्यो ।यता राप्तीको पानी नहरबाट लगेर हाम्रो गाउँमा सिँचाइ गर्ने कुरा छ रे । यतै खेतीपाती गर्न पायो भने त म पनि विदेश जाँदैन ।
काम गर्ने ठाउँ नपाएर अर्काको देश बनाउन जानु परेको छ, बहुत दुख लाग्छ भै । दाइ भावुक भए ।विदेशीले हेपेको सम्झेर त जान मन लाग्दैन । उनीहरु हामीलाई मान्छे ठान्दैनन् । यतै काम गर्न पाए त हुन्थ्यो तर के काम गर्ने यहाँ ? आफ्नो काम गरेर परिवार पाल्न सकिदैन । हामीलाई काम कसले दिन्छ ? पहिले मैले बदाम बेचेर दिनमा सय रुपैयाँ बचाउँथे । पछि त्यो बदाम उठाउन गाउँमा अरु पनि आउन थाले । मैले बदाम पाएन । विदेश नगई केही उपाय लागेन भै ।
उता बस्दा कहिले काहीं त लाग्छ म भोकै पेट बाँधेर बस्छु तर विदेश जाँदिनँ । के गर्नु ? ठुलो परिवार छ, यही बाध्यता छ । दाइले दुखेसो पोखे ।
मैले फरक प्रसङ्ग कोट्याए । अहिले त मधेश देशको पो कुरा गर्दैछन् त । तपाईंलाई थाहा छ ? तपाईं र हामी त फरक देशको मान्छे पो भइन्छ कि जस्तो छ ।
यो सीके राउत र सरकारको एघार बुँदे सहमति भयो रे । यो सब अस्थिरता फैलाउन भइरहेको छ । अहिले जे छ ठिकै छ । मधेश देश भयो भने के हुन्छ? त्यहाँ फेरी जाति, धर्म छुट्टाउँछ। गरिब त जुन देशमा भए पनि गरिब नै हुन्छ । हुँदा खाने नै हो सँधै । कम्तिमा स्थिरता भएर काम गरि खान पायो भने सबै भन्दा सुखी देश त्यही हो हामीलाई ।
हामी लमही पुगीसकेका थियौँ । बस पार्कमा पुगेर बस रोक्कियो । हमिद दाइ ओर्लने बेला आयो । हामीमा आत्मियता बढिसकेको रहेछ । उनी सँगै म पनि बसबाट ओर्लिए । उनका ज्वाइँसँग भेट भयो । मैले नमस्कार गरेँ। टेम्पो तयारी अवस्थामा थियो । हमिद दाइले आफ्नो सबै झोलाहरू टेम्पोमा राखे । हामीले अङ्कमाल गर्यौं। आफ्नो ठाउँमा आइपुगेकोले हमिद दाइ प्रसन्न थिए ।
म दाङसम्म पुग्नु पर्ने थियो । बसमा फेरी चढेँ। सोचेँ उनका साना साना सपनाहरू पनि कति कष्टकर छन् है ? परिवारको पेट पाल्न सारा जीवन परिवार भन्दा टाढा रहेर बाँच्नु पर्ने । कस्तो मानबिय बाध्यता ?
मिति २०७५ साल चैत्र २ गते, शनिबार
किनपा -२ मैत्रिनगर स्वर्गद्वारी टोल