Oct 16, 2017

ध्रुविकृत नेपालको राजनीतिक भविष्य 

-
टीकाराम शर्मा रिजाल
 किर्तिपुर, काठमाडौँ  

पृष्ठभूमि -०१७ सालमा तत्कालीन राजा महेन्द्रले बाम  ध्रुवबाट डा. केशरजङ्ग रायमाझी (नेकपाका महासचिव ), कमलराज रेग्मी, डी. पी अधिकारी के. स र प्रजातान्त्रिक  ध्रुवबाट सूर्यबहादुर थापा, विश्वबन्धु थापाको साथ लिएर संसदीय व्यवस्था खारेज गरि पञ्चायती व्यवस्था लागू गरेका थिए | साम्यवाद र पुँजीवादको  ध्रुवबाट व्यक्तिहरू टिपेर साम्यवादी र पुँजीवादीहरूलाई लात्ताले हानेर गोल गर्न सफल भएका थिए | उत्तर दक्षिणमा रहेका गोल पोष्ट खाली गराएर ३० वर्ष सम्म पञ्चायत चल्यो / चलाएका थिए  | पछि यी २ विपरित  ध्रुवका नेताहरूमा पुष्पलालले पञ्चायती व्यवस्थासँग भिन्न मत राख्ने जो सुकै पार्टीसँग मोर्चाबन्दी गरि पञ्चायत ढाल्न सकिन्छ भन्ने नारा दिए भने विश्वेश्वर प्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति   भनी   निर्वाशित जिन्दगी छाडेर नेपाल प्रवेश गरी सङ्गठन गर्न थाले | यसै बीच बाम-बाम  ध्रुवबीच, काङ्ग्रेस - काङ्ग्रेस  ध्रुवबीच र बाम- काङ्ग्रेस अन्तरद्वन्द्व हुँदै, कलहबाट सिक्दै ०३६ सालको आन्दोलन तथा ०४६ सालको आन्दोलन पछि राजा बहुदलीय व्यवस्था तथा संवैधानिक राजतन्त्र स्वीकार्न बाध्य भए |    

राजनीतिक परिवर्तनकै सिलसिलामा उनै काँग्रेस- कम्युनिस्टहरूको झगडा चुलिँदा ०५२ साल देखि माओवादी जन्म्यो | ०५७-०५८ सम्म आइ पुग्दा एक-अर्का नास भए, खुचिङ गरे दुई ध्रुव | सुनौलो अवसर आयो दरबारलाई  | यही मौकामा दरबार हत्याकाण्ड भयो | तत्कालीन राजा बिरेन्द्रको वंश विनाश भयो | फेरी सक्रिय राजतन्त्रको सुरुवात भयो | काङ्ग्रेस - कम्युनिस्ट रसाएका आँखाले हेराहेर गर्न थाले, फेरी जुट्न बाध्य भए | एमाले- काङ्ग्रेस ( संसदीय शक्ति ) र जनयुद्धकारी शक्ति माओवादी मिलेर दोश्रो जनआन्दोलन गरेपछि ०६३ मा राजतन्त्रको पूर्ण रुपमा अन्त्य भयो |   

 राजतन्त्रको अन्त्यपछि संविधान सभाको चुनाब भयो । छिटफुट रुपमा ध्रुवका चर्चा चलेपनि संविधान बनाउने कार्यमा दुवै ध्रुव मिलेर दुई कार्यकाल भरिमा संविधान बनाए । संविधान बनाउने आफू स्थापित हुने कार्य एक साथ बन्दा नीति, विचार, दर्शन, राष्ट्र र राष्ट्रियताका पगरी फालेर आफू मात्र स्थापित हुने तर्फ राजनीतिको धार  बग्न थाल्यो । 
यिनै परिदृश्यमा रहेर समीक्षात्मक बहस भित्र-भित्रै चलाउँदा एमाले, माओवादी केन्द्र र नयाँशक्ति केन्द्र बीच चुनावी तालमेल र पार्टी एकताको तह सम्म पुगेपछि नेपालको राजनीतिक वृतमा खैला-बैला शुरु भएको छ । बामहरू एउटा  ध्रुवमा  ध्रुवकृत हुने सङ्केत पाएपछि नेपाली काङ्ग्रेसको पहलमा अर्को ध्रुव बन्दैछ। अहिले आ-आफ्नो स्थान सुरक्षित गर्न नेताहरू सक्रिय देखिए पनि दर्शन, सिद्धान्त, विचार, सङ्गठन, इमान्दारिता, राष्ट्र प्रेम र देश बनाउने भिजन छैन भने त्यो राजनीति कानो हुन्छ । तसर्थ ध्रुविकृत राजनीतिको असर के पर्ला नेपालका राजनीतिक पार्टीहरूलाई । यो प्रश्नले नेपालको राजनीतिक वृतमा मात्र नभएर दिल्ली, बेइजिङ र ह्वाइटहाउसमा समेत तरङ्ग ल्याउँदैछ भन्नु कति सान्दर्भिक होला, छोटो चर्चा गरौँ ।

नयाँ संविधान निर्माणमा ९०% सभासदले हस्ताक्षर गरे पनि मधेशवादी दलहरूको संविधान संशोधनको आन्दोलन कायमै रह्यो  । संसोधन प्रस्ताव असफल भएपछि मात्र स्थानीय तहको चुनाब सम्पन्न भएको छ । तर पनि मधेशका केही उचित मागबारे राष्ट्रले सम्बोधन गर्न बाँकी नै छ । ०४६ पछिको राजनीतिक परिवर्तन मोटो रुपमा राजतन्त्र अन्त्य र नयाँ संविधानको निर्माण नै हो । राजनीतिक स्थिरताको अभावमा देश विकासको कुरा परिकल्पना मात्र हुँदोरहेछ, यो भने अनुभव सिद्ध ज्ञान हो । यति हुँदाहुँदै पनि ध्रुव बन्नु, ध्रुव बनाएर अघि बढ्नु राष्ट्रलाई हित हुने देखिन्छ । सयौँ पार्टीहरू दर्ता गराएर चुनाब लड्ने र सांसद भएपछि त्यसलाई फगत जागिर सम्झने नाटक नेपाली जनताले छर्लङ्ग देखेका  छन् । यी सय भन्दा बढी पार्टी २ वा ३ पार्टीमा ध्रुविकृत हुने हो भने देशले अब उप्रान्त स्थाई सरकार पाउने देखिन्छ । ०७ साल पछि अहिले सम्म ५ वर्ष पुरा कार्यकालको स्थायी सरकार देशले नपाएको के सच्चाइ हैन र ? संसदीय व्यवस्थाको उच्चतम् रूपको प्रजातन्त्र दाबी गर्ने मुलुक बेलायतमा लेबर र कन्जरभेटिभ, अमेरिकामा रिपब्लिकन र डेमोक्र्याट हुनुले पनि ढिलोचाँडो २ पार्टीमा मुलुक जानु पर्दा ध्रुवनै चाहिन्थ्यो ।   

त्यसैले यो समयमा नेपाली राजनीतिज्ञहरूले ध्रुव बनाउने पहल गर्नुले र भारतमा पार्टीहरू ध्रुविकृत नहुँदा भारत भन्दा एक कदम नेपाली राजनीति अगाडि बढ्दै छ भन्न सकिन्छ ।
आन्तरिक कारणले ध्रुव बनेको हो - बाम ध्रुव बन्दा चीनको इसाराले र लोकतान्त्रिक नामले ध्रुव बन्दा भारतको इसाराले भनेको अर्थ्याउनु गलत हुनेछ । आ-आफ्नो रुचि हुनु बेग्लै कुरा हो, अनि राष्ट्रको आफ्नो परिस्थिति तयार हुनु वास्तविकता हो । ध्रुव विदेशीको इसाराले बन्यो भन्नु नेपाली नेताको अवमूल्यन गर्नु हो । तत्कालीन राजा महेन्द्र हुन् या विश्वेश्वर प्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी, गिरिजा प्रसाद, प्रचण्ड र ओली राष्ट्रिय परिस्थिति सामना गरेरै परिचय बनाएका हुन् । ध्रुवको जन्मले विदेशमा तरङ्ग ल्याउने कुरा गौण हो नेपालका लागि । नेपाल र नेपाली जनता चीन-भारतलाई मित्र राष्ट्र मान्दै संसारभर असल मित्रता कायम गर्न चाहन्छन् । तर भारतका शासक बर्गले भने नेपाल प्रति हेपाहा नीति बनाउनु, नाकाबन्दी गर्नुले पनि नेपालमा राष्ट्रियताका निम्ति जागरण अभियान गर्न आन्तरिक परिस्थितिले सिकायो भन्नु पर्छ, भारतले हैन । 
सानो नेपाल र नेपालीलाई भजाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने कुनै पनि देश प्रति भने अब २१ औ शताब्दीको नेपाल जनता संसारका आँखीझ्याल बाट हेर्दै छन् र नेपाल न छो भन्ने छन् । 

ध्रुवले हुने फाइदा - प्रथमत नेपाल सङ्घीयतामा प्रवेश गरि सक्यो । यो सङ्घीयता कसको एजेन्डा बामको कि डेमोक्र्याटको ? यो समय पनि पार भइसक्यो । बरु सङ्घीयता सफल कार्यन्वयन गर्न पनि केन्द्रिकृत बस यात्रा प्रणाली भन्दा सङ्घीयताको सात डिब्बा रूपी ट्रेन यात्राले धेरै नेतालाई स्थान दिने छ । विकासलाई विकेन्द्रीकरण गर्न मात्र हैन धेरै नेताहरूलाई व्यवस्थापन गर्न सङ्घीयता चाहिने र स्वस्थ प्रतिस्पर्धाबाट नेता वा नेतृत्व बन्ने हो भने विकासको सुरुवात हुन्छ । केवल काङ्ग्रेसहरूले बामहरूलाई एक दलीय तानाशाह, चीनका दलाल, प्रजातन्त्रका भक्षक को सुगा रटाइ र कम्युनिस्टले काङ्ग्रेसलाई थोत्रो साइकल, जीर्ण रूख या भारतीय दलाल भनेर दोहोरी खेल्नु हानिकारक ध्रुव हुन्छ । त्यसैले नकारात्मक टिप्पणी गर्ने ठाउँ त हजार हुन्छन, तर सकारात्मक आँखाले सानो प्वालबाट संसार चियाउने बानी बसाल्न उत्तिकै जरुरी हुन्छ ।  

असल ध्रुव कसरी बनाउने ?
ध्रुव जन्मने भ्रुणहरू नीति, विचार, दर्शन, सिद्धान्त, राष्ट्रियता नै हुन् । उसो त कम्युनिस्ट र काङ्ग्रेस नै विपरित ध्रुव हुन् । सूक्ष्म रुपमा अध्ययन गर्ने हो भनेपनि लेबर र कन्जरभेटिभ अनि डेमोक्र्याट र रिपब्लिकन यस्तै विपरित ध्रुवीय भ्रुण भेटिन्छन् । उनीहरु परिमार्जित भै सकेका छन् । हामीहरू बीच यात्रामा छौ । त्यसैले विचार दृष्टिकोणको बहस नचलाएपनि दिशाबोध भने भएको देखिएको छ । सबैकुरा अहिले छिनोफानो गर्न पनि आफ्नो स्थान सुरक्षित गर्न ससर्त  ध्रुव बन्दैछन् । सर्त हो, चुनावी तालमेलको । ध्रुव बनाउन नेतृत्व गर्नेले मिल्दा विचार भएकाहरूलाई उनीहरूको योगदानलाई मूल्याङ्कन गर्दै समेट्न सक्नु  पर्छ  ।    यसो गर्दा पार्टीहरूले २ ओटा कुरामा भने ध्यान दिने पर्छ । पहिलो हो - चुनावी तालमेलमा छुट्टाएका स्थानहरूमा इमानदारी पूर्वक साथ दिने, संयुक्त घोषणापत्र अनुसार काम गर्ने र विश्वासको सङ्कटमा रहेको राजनीतिको बाधा हटाउने । दोश्रो हो - हरेक पार्टीले आन्तरिक रुपमा टिकट दिँदा नेतालाई भेटी चढाउनु पर्ने, गुटगत चुक्ली लगाउनु पर्ने जस्ता घिन लाग्दा, असक्षमलाई नेतृत्व दिनु ध्रुव को पतनको बाटो भन्ने सम्झी गुटगत संस्कारबाट माथि उठेर योग्य व्यक्तिलाई पहिचान गरि उम्मेद्वारी दिएमा जनताले हार्दिकताका साथ साथ दिनेछन् । अन्यथा ध्रुवको बीच बाटोमै रक्तश्राव हुन सक्ने देखिन्छ । 

माथि भनिएको व्यवहार कार्यकर्ता व्यवस्थापन गर्न मूल्याङ्कन गरेर गए मात्र पार्टी धारिलो  बन्छ भन्न खोजिएको हो । तर जनताको आँखामा नेता भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ । किनकि यो युग पुरानो युग होइन, भारतबाट पठाएको चिठ्ठी नेपाल आउन एक महिना लाग्ने समय अब छैन । यो त कम्प्युटरको युग हो । दिनको एक घण्टा इन्टरनेटमा बस्ने स्कुले बच्चाले पनि एकै छिनमा संसार देख्न सक्छ । 
आज २५ लाख नेपालीले ५३ डिग्रीको गर्मीमा खाडी क्षेत्रमा गएर काम गरिराखेका छन् ।देश भित्र लाखौ हात खाली छन् । सधैँभरि तिनीहरूलाई जिन्दाबाद र मुर्दावाद सिकाएर देश उँभो लाग्दैन । यो कुरा त अब राजनीतिक क्रान्ति पुरा भयो भनेर मान्ने पार्टीले सम्म मनन गरेको कुरा हो ।
आर्थिक क्रान्ति पुरा गर्न ध्रुव - अबको कार्यभार भनेको आर्थिक क्रान्ति भनेर पार्टीहरूले भनेपनि योजना र कार्यक्रम बिनाको भन्ने खोक्रो हुन्छ । वास्तवमा १५  वर्ष माथि र ६० वर्ष मुनिका कुनैपनि नेपालीले  खाली हात  बस्न  नपरोस् भनेर कार्यक्रम बनाउनु जरुरी  छ   र ध्रुवीय  प्रतिस्पर्धामा भाषण, बहस हैन योजना, कार्यक्रम र तिनको कार्यन्वयन जरुरी छ  । हरेक नेपालीलाई योग्यता, क्षमता अनुसारको काम दिनका लागि मलेसियाका महाथिर, सिङ्गापुरका लि क्वान यू  जस्ता नेपाली नायक तयार हुनुपर्छ । अहिलेको अवस्थामा २५ या ३० लाख बेरोजगारलाई रोजगारीका लागि आन्तरिक स्रोत र बाह्य स्रोत जुटाएर बजेट व्यवस्था गर्दै अर्जुन दृष्टिका साथ देश विकासमा होमिने हो भने ५ वर्षमा लोडशेडिङ पूर्ण रुपमा अन्त हुन्छ, मध्यपहाडी लोक मार्ग सञ्चालनमा आँउछन्, कोशी-गण्डक बाँधहरूको जोखिम घट्छ, सडकहरू बिस्तारित र सुरक्षित बनाउन सकिन्छ, नेपालका सयौँ स्थान पर्यटकीय बन्छन् । खुर्सानी किनेर खाने कृषि प्रधान देश नेपालले फलफूल, खाद्यान्न माछा-मासु आदिमा देश भित्र बाटै पुराना रुपमा आत्मा निर्भर हुन सक्छ, खानी- खनिज सञ्चालनमा आँउछन्, साना-ठुला-मझौला उद्योगहरू व्यवस्थित रुपमा प्रतिस्पर्धामा चल्न  थाल्छन्, मानक मापनका नमुना शहर बन्न थाल्छन्, नेपालीको आम्दानी कमसेकम १० हजार डलर प्रतिवर्ष पुग्छ । यसरी स्कुल, कलेज, अस्पताल, वृद्धाश्रम, मठमन्दिर बनाउने कार्यमा तीब्र रुपमा ध्रुव प्रतिस्पर्धा, धर-आँगन, चोक, सडक सफा बनाउने प्रतिस्पर्धा ध्रुवको भएमा ध्रुव बन्नु फाइदाजनक हुनेछ ।

अतः  ध्रुव राजनीति गर्न भनिएपनि आर्थिक क्रान्ति गर्न, उत्पादन बढाउन, राष्ट्रियताको जगेर्ना गर्न साधक सिद्ध बन्नुपर्छ । स्वस्थ राजनीतिक प्रतिस्पर्धा उत्तम बाटो हो भनेर चुनौती दिने क. मदन भण्डारीले भनेझैँ स्वस्थ प्रतिस्पर्धा स्वीकार गरौँ । देश र जनताको विकास हुने कार्यक्रम बनाउन  जरुरी छ । गालीको धुप बालेर राजनीति गर्ने तर कार्यक्रमिक प्रतिस्पर्धामा आउन नसक्ने पार्टी या ध्रुवहरू  यो संसारबाट डायनोसर लोप भएझैँ लोप हुनेछन ।  

-        टीकाराम शर्मा रिजाल
-        किर्तिपुर, काठमाडौँ







No comments:

Post a Comment